बेइजिङमा अमेरिका–चीन उच्चस्तरीय वार्ता सुरु, सी जिनपिङको प्रस्ताव : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ’

बेइजिङमा अमेरिका–चीन उच्चस्तरीय वार्ता सुरु, सी जिनपिङको प्रस्ताव : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ’

अमेरिका–चीन सम्बन्ध अब पहिलेभन्दा अझ सुदृढ हुने दाबी

बेइजिङ । सी जिनपिङडोनाल्ड ट्रम्प बीच चीनको राजधानी बेइजिङ स्थित ग्रेट हल अफ द पिपल मा बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ ।

वार्ताको प्रारम्भिक मन्तव्यका क्रममा राष्ट्रपति सीले ट्रम्प र अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्दै चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदारका रूपमा अघि बढ्नुपर्ने धारणा राखे ।

सीले विश्व अहिले “एक शताब्दीमै नदेखिएको परिवर्तन” को चरणबाट गुज्रिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र उतारचढावपूर्ण बनेको बताए । उनले वर्तमान विश्व नयाँ दोसाँधमा उभिएको भन्दै “के चीन र अमेरिकाले ‘थुसिडाइड्स ट्र्याप’ टारेर सम्बन्धको नयाँ नमुना स्थापित गर्न सक्छन् ?” भन्ने प्रश्न उठाए ।

उनले विश्वका दुई प्रमुख शक्ति राष्ट्रका रूपमा इतिहास र मानवताको भविष्यप्रति दुवै देशको साझा जिम्मेवारी रहेको बताए । साथै अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा ट्रम्प र अमेरिकी जनतालाई बधाई समेत दिएका थिए ।

राष्ट्रपति सीले दुई देशबीच मतभेदभन्दा साझा हितका विषय धेरै रहेको उल्लेख गर्दै एक राष्ट्रको सफलता अर्कोका लागि अवसर बन्न सक्ने धारणा राखे । उनले स्थिर चीन–अमेरिका सम्बन्धले विश्व शान्ति र आर्थिक स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले सीसँगको भेटलाई “सम्मानको विषय” बताएका थिए । उनले विगतमा समस्या उत्पन्न हुँदा फोन संवादमार्फत दुवै देशले छिटो समाधान निकाल्ने गरेको स्मरण गरे ।

ट्रम्पले सीलाई “महान् नेता” भन्दै प्रशंसा गरेका थिए । उनले यस भ्रमणमा “विश्वकै उत्कृष्ट व्यापारिक नेतृत्व” लाई साथमा ल्याएको उल्लेख गर्दै चीनसँगको आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न चाहेको संकेत दिए ।

ट्रम्पले अमेरिका–चीन सम्बन्ध अब पहिलेभन्दा अझ सुदृढ हुने दाबी पनि गरेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम CCTV का अनुसार वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर तथा अर्थमन्त्री स्कट बेसेन्ट सहभागी छन् ।

विश्लेषकहरूले ट्रम्पले चीनसँग कृषि उपज, विमान तथा अन्य अमेरिकी सामान खरिदसम्बन्धी सम्झौता गरेर घरेलु रूपमा “सफल डिल” देखाउन खोजेको टिप्पणी गरेका छन् ।

यद्यपि, पछिल्ला वर्षहरूमा अमेरिकाले लगाएको शुल्क नीतिको सीमित प्रभाव र सेमिकन्डक्टर उद्योगमा आवश्यक दुर्लभ धातुमा चीनको बलियो नियन्त्रणका कारण वार्तामा अमेरिकाको बार्गेनिङ शक्ति कमजोर भएको आकलन पनि गरिएको छ ।

यसैबीच, ट्रम्प प्रशासनले इरान माथिको दबाब बढाउन चीनको सहयोग खोज्ने अपेक्षा गरिएको भए पनि त्यसको बदलामा चीनले आफ्ना रणनीतिक हितअनुसार माग राख्न सक्ने विश्लेषण गरिएको छ ।

Tokha