कञ्चनपुर । इजरायलमा मारिएका नेपाली नागरिक विपिन जोशीको मंगलबार कञ्चनपुरको महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्दै विपिनप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो।
उनको शव सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइयो र त्यहाँबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्याइयो। धनगढीबाट उनका परिवारले जन्मस्थान, कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित घरमा पुर्याए। शव हस्तान्तरणका क्रममा नेपालस्थित इजरायली दूतावासका प्रतिनिधि पनि उपस्थित थिए।
घरमा सोमबार राति ढिलो पुगेको शवको आज बिहान विशेष समारोहसहित शवयात्रा निकालेर महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा परिवारका सदस्य, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका कर्मचारी र सर्वसाधारणको उपस्थिती रहेको थियो।
विपिन करिब दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका थिए। इजरायल पुगेको एक महिनाभित्र उनी हमास लडाकुहरूको आक्रमणमा परेका थिए। सन् २०२३ को अक्टोबर ७ मा गाजाबाट प्रवेश गरेका हमास लडाकुहरूले आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी मारिएका थिए भने विपिनलाई बन्धक बनाइएको थियो।
उनको अवस्था दुई वर्षसम्म अज्ञात रह्यो। तर हालै इजरायल र हमासबीच भएको युद्धबिरामपछि बन्धक सम्बन्धी अनुसन्धानमा संलग्न इजरायली सुरक्षाकर्मीहरूले विपिनको सन् २०२३ मा हत्या भएको पुष्टि गरेका छन्। नेपालस्थित इजरायली दूतावासलाई यसबारे आधिकारिक जानकारी गत असोज २८ गते प्राप्त भएको थियो। इजरायली फरेन्सिक रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेको थियो र यसै कारण उनको मृत्यु भएको पुष्टि भएको छ।
तिहारको बिचमा विपिनको शव घर आइपुग्दा परिवार र गाउँभरि शोक छायो। उनका आफन्तले भने, उनकी बहिनी पुष्पा यस वर्ष भाइटीकामा दाजुसँग भेट्ने आशामा थिइन्। ‘लक्ष्मीपूजाको दिन विपिनको शव घरको आँगनमा आइपुग्दा परिवार मौन भयो,’ जोशी परिवारका सदस्य किशोर जोशीले बताए । यस क्रममा तयारीमा राखिएका फूलहरू शोकमा बहिनीले उखेलेको समाचार परिवारले साझा गरेको छ।

































