काठमाडौं । टोखा नगरपालिकाले स्थानीय तहमा सुरक्षात्मक संरचना सुदृढ गर्न प्रत्येक टोलमा नागरिक सुरक्षा समूह गठन गर्ने निर्णय गरेको छ।
नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा बुधबार बसेको शान्ति-सुरक्षा सम्वन्धी बैठकले टोलवासीको जीउधनको सुरक्षासँगै सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँग समन्वयमा नागरिक स्तरबाट निगरानी संयन्त्र गठन गर्न वडाहरूमार्फत पहल गर्न निर्देशन दिएको हो।
बैठकले नगरभित्रका प्रत्येक घरधनीलाई आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य रूपमा राख्ने निर्णय पनि गरेको छ। त्यस्तै, बहालमा बस्ने व्यक्तिबाट कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।
सुरक्षालाई ध्यानमा राख्दै बैठकले स्थिति सामान्य नहुञ्जेल राति ९ बजेपछि अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र त्यस्तै समयपछि व्यापार-व्यवसाय बन्द गर्न नगरवासीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
त्यससँगै, टोखाभित्र साबिकदेखि स्थापना भएका प्रहरी कार्यालयहरूलाई पूर्ववत् रूपमा सञ्चालनमा ल्याउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ। साथै, सडकबत्ती, सिसी क्यामेरा र अन्य सुरक्षासम्बन्धी उपकरणको मर्मत-सम्भार गरी शीघ्र सञ्चालनमा ल्याउने योजना पनि बैठकले तय गरेको छ



































