गोरखा । गोरखामा सोमबार बिहान सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट सोतीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ख ४१३१ नम्बरको रात्री बस भिमसेनथापा गाउँपालिका-३ टारीफाँटमा ब्रेक फेल भई सडकबाट करिब चार मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटका प्रनानि लेखनाथ सिग्देलको कमाण्डमा १० जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो । बसमा चालकसहित २२ जना सवारमध्ये २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक झक ब. थापा मगर, दुर्गा ब खत्री र १४ वर्षीय अली आलमलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्य घाइतेहरूको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये १६ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनाग्रस्त स्थान इलाका प्रहरी कार्यालय आरुघाटदेखि करिब २ किलोमिटर पूर्वतर्फ पर्छ ।

































