काबुल । आइतबार राति अफगानिस्तानमा गएको ६.३ तीव्रताको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार कम्तिमा २५० जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक केन्द्रित भएको नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहदेखि १६० किलोमिटर तल रहेको र यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस भएको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूजले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ भने न्यूयोर्क टाइम्स ले सयौंको ज्यान गएको उल्लेख गर्दै वास्तविक तथ्यांक अझै आउन बाँकी रहेको जनाएको छ ।
पहिलो धक्कापछि लगातार परकम्प अनुभव गरिएको छ, जसमा ४.७, ४.३ र ५.० तीव्रताका झट्का मापन भएका छन् । प्रभावित क्षेत्रमा दुर्गम भौगोलिक अवस्था र कमजोर संरचना भएकाले क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
तालिबान सरकारका अधिकारीहरूले हिमाली तथा दुर्गम क्षेत्रका पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहायता संगठनलाई सहयोग गर्न आग्रह गरेका छन् ।
यसअघि सन् २०२३ को अक्टोबरमा गएको विनाशकारी भूकम्पमा ४ हजार मानिसको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघले भने त्यतिबेला १,५०० जनाको मृत्यु पुष्टि गरेको थियो ।

































