काठमाडौं । राजधानीमा सोमबार कवाड व्यवसायीहरूले प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म र्याली निकाल्दै विरोध जनाएका हुन् ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएपछि संकलक र व्यवसायीहरू आन्दोलित बनेका हुन् । उनीहरूले महानगरको निर्णयले आफ्नो रोजीरोटी खोसिएको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेका छन् ।
सोमबार व्यवसायी समाजले कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउसमेत गरेका थिए । प्रदर्शनकारीहरूले संविधानले सुनिश्चित गरेको पेसा र व्यवसाय गर्ने अधिकार ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।
यस्तै, कवाड संकलक र मजदुरमाथि काठमाडौं महानगर प्रहरीले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने उनीहरूको भनाइ छ ।
महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने, विगत दुई वर्षमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र मजदुरको ज्यान-मालको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको माग छ ।

































