काठमाडौं । काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री-वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।
काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमःले पटक-पटक महानगरको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,’ न्यौपानेले भने ।
महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्कमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री-वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।

































