इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका-१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।



































