बाजुरा । धर्तिको भू-स्वर्ग बाजुराको बडीमालिकामा दर्शन गर्न गएका एक जना तिर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीले बताएका छन् । दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा उनको भीरबाट लडेर मृत्यु भएको हो।
विस्नेपानी नजिकै लडेर करिव सात सय मिटर तल खोल्सामा मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ । राति अबेर घटना भएकाले खोज तलास गर्दा विस्ने खोलाको खोल्सामा शव अड्किएकाले उद्धार गर्न समस्या भएको प्रहरी नायव उपरिक्षक हवारीले बताए ।
लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भइरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा भएपनि मौसम खरावीका कारण उड्न सकेको छैन । मृतक ओझा पूर्वशिक्षा मन्त्री देवी प्रसाद ओझाका छोरा हुन् ।
जगत जननी बडिमालिकामा आज पुजा लागि रहेको छ । धार्मिक तथा ऐतिहासिक शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।
पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् ।त्यस्तै तालै तालको तिर्थको रुपमा परचित बुढीनन्दामा पनि आज पुजाआजा सुरु भएको छ ।

































