काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले स्थानीय सरकार गठन भएयताका आठ वर्षको अवधिमा वडाको विकासमा आमूल परिवर्तन आएको बताएका छन् । २०७४ सालयता लगातार वडा नम्बर १ को नेतृत्व गरिरहेका श्रेष्ठले आठ वर्षको अवधिमा वडाको रुपरेखा नै परिवर्तन भएको महसुस आफूले गरेको बताएका हुन् ।
‘म दोस्रो कार्यकाल अहिले अध्यक्षमा छु, २०७४ देखि २०८२ सम्म आउँदा खेरी वडाको मुहार फेरेका छौँ,’ उनले भने, ‘यो कुरा वडाबासीहरुलाई पनि महसुस भएको होला ।’ वडाध्यक्ष श्रेष्ठले जति पनि विकास निर्माणको काम बुद्धिले भ्याएसम्म गरेको बताए ।
स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राखेर वडा कार्यालयले काम गरिरहेको उनले जानकारी गराए । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, ढल निकास र सहरको सौन्दर्यीकरणमा वडाले विशेष ध्यान दिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।

































