काठमाडौं । नेपालमा पत्रकारमाथि हुने धम्की, आक्रमण, धरपकड, पक्राउ तथा सञ्चारमाध्यममाथिको आक्रमणका घटनामा दोषीमाथि कारबाही हुन नसकेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले पत्रकारविरुद्धका अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
पत्रकारिताविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा पत्रकारिता क्षेत्रका अगुवाहरूले पत्रकारले निर्भयपूर्वक काम गर्न सक्ने वातावरण बनाउन राज्य जिम्मेवार हुनुपर्ने बताएका हुन्।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले राज्य तथा गैरराज्य पक्षबाट पत्रकारविरुद्ध भएका अपराधमा प्रभावकारी अनुसन्धान र कारबाही हुन नसकेको बताए। विगतका घटनामा दोषीलाई कारबाही गर्न नसकिएको र पछिल्लो समय राज्य तहबाटै पत्रकारविरुद्धका अपराध बढेको देखिनु चिन्ताजनक रहेको उनको भनाइ छ।
महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले जिम्मेवार र जवाफदेही पेसाका रूपमा रहेको पत्रकारितालाई नै अपराधीकरण गर्ने प्रवृत्ति देखिनु गम्भीर विषय भएको बताए। सत्ता र शक्तिमा रहेकाहरूले आफ्नो स्वार्थअनुसार काम गर्दा दण्डहीनताको अवस्था लम्बिएको उनको धारणा छ।
त्यस्तै, पूर्वअध्यक्ष विपुल पोखरेलले नेपालमा ३० भन्दा बढी पत्रकारको हत्या भइसकेको र त्योभन्दा बढी पत्रकार घाइते भएको बताए। पत्रकार हत्या, धम्की, सञ्चारमाध्यममाथि तोडफोड तथा आक्रमणका घटनामा संलग्नमाथि कारबाही हुन नसकेको उनले उल्लेख गरे।
पोखरेलले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै यसको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे। दोषी पहिचान गरी कारबाही नगरे दण्डहीनता अझ बढ्ने उनको चेतावनी छ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले पत्रकारमाथि हुने धरपकड, धम्की र अपमानजनक व्यवहार अन्त्य गर्न राज्य जवाफदेही हुनुपर्ने बताइन्। पत्रकारले आफ्नो पेसागत जिम्मेवारी निर्भयपूर्वक निर्वाह गर्न सक्ने वातावरण बनाउनु सरकारको दायित्व भएको उनको भनाइ छ।
उनले पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्दै निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। तर पत्रकारमाथि हुने धम्की, धरपकड र दुर्व्यवहार रोक्ने मुख्य जिम्मेवारी राज्यकै हुने उनले बताइन्।
पत्रकारिता लोकतन्त्र, नागरिकको सूचनाको हक र सार्वजनिक जवाफदेहितासँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। पत्रकारमाथि हुने अपराधमा निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र प्रेस स्वतन्त्रताको सुनिश्चितता हुनुपर्नेमा पत्रकारिता क्षेत्रका अगुवाहरूले जोड दिएका छन्। उनीहरूले दण्डहीनताको अन्त्य गर्दै पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।



































