काठमाडौं । नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठाएको निष्कर्ष निकालेको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारमाथि धरपकड गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको बताए।
उनले पक्राउको स्पष्ट आधार, पुर्जी र अदालतको अनुमति सार्वजनिक नगरी गरिएका यस्ता गतिविधि विधिको शासनविपरीत रहेको उल्लेख गर्दै सरकारले त्यसको जवाफ दिनुपर्ने बताए।
आङ्देम्बेले सरकारका जनसरोकारका विषय र सुशासनका काममा कांग्रेसको समर्थन रहने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणविपरीतका गतिविधिको विरोध गर्ने स्पष्ट पारे।
उनले न्यायपालिकाको स्वतन्त्रता कायम राख्दै सरकारका सबै काम कानुनी प्रक्रिया र विधिअनुसार हुनुपर्नेमा जोड दिए। सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उनको भनाइ थियो।
कांग्रेसले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेको छ।
नेता आङ्देम्बेले घटनाको सत्यतथ्य सार्वजनिक गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताए।
कांग्रेसले पछिल्ला घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्थासँग जोडिएको विषयका रूपमा लिँदै सरकारलाई जवाफदेही बन्न आग्रह गरेको छ। साथै, नागरिक स्वतन्त्रता र विधिको शासनको रक्षा गर्न आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।



































