पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गरी पीडितलाई न्याय दिन फ्रीडम फोरमको माग

पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गरी पीडितलाई न्याय दिन फ्रीडम फोरमको माग

काठमाडौं । पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ। पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमले जनाएको छ।

पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २) का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन माग गरेको हो। यस वर्षको दिवसको नारा ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ।

फोरमका अनुसार सशस्त्र द्वन्द्वका क्रममा हत्या तथा बेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय पाउन सकेका छैनन्। द्वन्द्वकालीन घटनाका उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा दर्ता भए पनि अनुसन्धान र न्यायिक प्रक्रिया टुंगिन सकेको छैन।

पत्रकारहरू द्वन्द्वका प्रत्यक्ष पक्ष नभई मानव अधिकार रक्षक भएकाले उनीहरूमाथिका अपराधलाई संक्रमणकालीन न्याय संयन्त्रभन्दा नियमित फौजदारी न्याय प्रणालीबाट सम्बोधन गर्नुपर्ने फोरमको माग छ।

फोरमले द्वन्द्वकालमा मारिएका नवराज शर्मा, कृष्णबहादुर सेन, गोपाल गिरी, ईश्वर बुढाथोकीलगायत पत्रकारका घटनामा अझै न्यायिक प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ। त्यस्तै, शान्ति सम्झौतापछि हत्या गरिएका पत्रकार जगतप्रसाद जोशी, खगेन्द्र श्रेष्ठ र देवीप्रसाद धितालका घटनामा पनि अनुसन्धान तथा अभियोजन नभएको उल्लेख गरेको छ।

काठमाडौंमा गोली हानी हत्या गरिएका जमिम शाह तथा मधेश आन्दोलनका क्रममा मारिएका रोहन चौधरी र गणेश चौधरीका घटनामा समेत न्याय हुन नसकेको फोरमको भनाइ छ। द्वन्द्वकाल र त्यसपछि बेपत्ता पारिएका धनबहादुर रोकाया मगर, मिलन नेपाली, मदन पौडेल र प्रकाशसिंह ठकुरीको अवस्था अझै अज्ञात रहेको विज्ञप्तिमा उल्लेख छ।

फोरमले पछिल्लो समय पत्रकारमाथि भएका हिंसाका घटनाप्रति पनि चिन्ता व्यक्त गरेको छ। तीनकुनेमा २०२५ मार्च २८ मा भएको प्रदर्शनको समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान हुन नसकेको जनाएको छ।

त्यस्तै, २०२५ सेप्टेम्बर ८ को जेनजी आन्दोलनका क्रममा प्रहरी कारबाहीमा गोली लागेर घाइते भएका पत्रकार शम्भु दंगाल, दीपेन्द्र ढुंगाना, श्याम श्रेष्ठ र उमेश कार्कीका घटनामा पनि दोषीमाथि कारबाही नभएको फोरमको आरोप छ।

फोरमको प्रतिवेदनअनुसार २०२५ नोभेम्बर १ देखि २०२६ अक्टोबर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट १०३ जना पत्रकार प्रभावित भएका छन्। प्रभावितमध्ये ९१ पुरुष र १२ महिला छन्।

पछिल्लो समय सञ्चारमाध्यमका कार्यालयमा सुरक्षा निकायको प्रवेश र पत्रकार पक्राउका घटनाले पत्रकारको सुरक्षामा थप चुनौती सिर्जना गरेको फोरमले जनाएको छ।

फोरमले पत्रकारमाथिका अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन, द्वन्द्वकालीन घटनाको नियमित फौजदारी न्याय प्रणालीबाट अनुसन्धान तथा अभियोजन गर्न र पीडित पत्रकार एवं उनीहरूका परिवारलाई न्याय दिलाउन सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।

Tokha