काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रोहिङ्ग्या संकटमा विश्व समुदायको ध्यान पुनः केन्द्रित गरी तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।
उनले म्यान्मार र बंगलादेशमा रहेका रोहिङ्ग्याले बढ्दो असुरक्षा तथा मानवीय सहयोगको अभाव सामना गरिरहेको बताए। संकट समाधानका लागि म्यान्मारमा समावेशी राजनीतिक समाधान आवश्यक रहेको उनको भनाइ छ।
रोहिङ्ग्याको सुरक्षित र सम्मानजनक स्वदेश फिर्तीको वातावरण नबन्दासम्म मानवीय सहायता जारी राख्नुपर्ने गुटेरेसले बताएका छन्। सन् २०१७ को हिंसापछि ७ लाख ५० हजारभन्दा बढी रोहिङ्ग्या बंगलादेश पुगेका थिए। हाल करिब १० लाख रोहिङ्ग्या बंगलादेशमा शरणार्थीका रूपमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।



































