काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारी विज्ञापन वितरणमा सरकारी र निजी सञ्चारमाध्यमबीच समान व्यवहार गर्न सरकारसँग माग गरेको छ। संघका पदाधिकारीसँगको भेटमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन विज्ञापन चक्रमा सुधार गर्ने बताएका छन्।
संघले कोभिड–१९ पछि विज्ञापन व्यवसायमा परेको असर तथा एजेन्सीहरूले भोगिरहेका कानुनी र नीतिगत समस्या समाधान गर्न मन्त्रीको ध्यानाकर्षण गराएको छ। विज्ञापन एजेन्सीले रोजगारी सिर्जना तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको संघको भनाइ छ।
संघले सर्वोच्च अदालतको आदेशअनुसार सरकारी तथा निजी सञ्चारमाध्यमलाई समान रूपमा विज्ञापन उपलब्ध गराउन र विज्ञापन एजेन्सीको संरक्षणका लागि आवश्यक निर्देशन जारी गर्न आग्रह गरेको छ। यसअघि सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने निर्णय गरिएकोमा सर्वोच्च अदालतले त्यसलाई बदर गरेको थियो।
मन्त्री तिमिल्सिनाले हालै जारी भएको राष्ट्रिय विज्ञापन नीति २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै डिजिटल माध्यमको विस्तार र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्



































