काठमाडौं / प्रहरीले विभिन्न स्थानबाट करिब ३६७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। उदयपुर र चितवनबाट ठूलो परिमाणमा गाँजा बरामद गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
उदयपुरको कटारी नगरपालिका–४, मरुवा खोला नजिकबाट १९९ किलो ३२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटारी नगरपालिका–४ कान्छी बजार बस्ने, रूपन्देही घर भएका २१ वर्षीय सोम मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपर जाँच गर्ने क्रममा ढालाभित्र लुकाएर राखिएको गाँजा फेला पारेको हो। प्रहरीले टिपरको ढालाभित्र ९ वटा बोरामा लुकाइराखिएको १९९ किलो ३२० ग्राम गाँजा बरामद गरेको जनाएको छ। त्यसपछि प्रहरीले टिपर चालक मगरलाई नियन्त्रणमा लिएको हो।
यस्तै, चितवनको राप्ती नगरपालिका–१०, चिप्लेटीबाट करिब १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–२ भिर्कुटीचोक बस्ने तथा मध्यविन्दु नगरपालिका–७ मिलनचोक घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवनको राप्ती नगरपालिका १ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो। प्रहरीले कार चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनामा बरामद गाँजा कहाँबाट ल्याइएको थियो र यसको ओसारपसारमा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



































