काठमाडौं / काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९९३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।
मंगलबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७० जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीको निगरानीबाट ६६ जना र रातोबत्ती उल्लंघन गर्ने ७१ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी तीव्र गतिमा सवारी चलाउने ११८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४१ जना र लेन क्रस गर्ने ३० जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १० जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ५४८ जना चालकलाई समेत कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई तीव्रता दिएको जनाएको छ। पछिल्लो २४ घण्टाको विवरणले तीव्र गति, मापसे, रातोबत्ती उल्लंघन तथा अन्य ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको देखाएको छ।
ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, निर्धारित गतिमा सवारी चलाउन, लेन अनुशासन पालना गर्न तथा ट्राफिक संकेत र बत्तीको अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ।



































