विराटनगर भदौ ७ । नेकपा एमाले विराटनगर महानगर कमिटीले ‘मिशन जागरण’ अभियानअन्तर्गत विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। महानगरपालिका क्षेत्रभित्रका अगुवा नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले पार्टीको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए।
महासचिव पोखरेलले पार्टीको नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिए। उनले बदलिँदो राजनीतिक परिस्थितिलाई बुझेर कार्यकर्ताहरू जनतासँग निरन्तर जोडिनुपर्ने धारणा राखे।
कार्यक्रममा विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले महानगरभित्र पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनताका समस्या र अपेक्षासँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
विशेष प्रशिक्षणमा विराटनगर महानगरपालिकाभित्रका अगुवा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा पार्टी संगठन, राजनीतिक गतिविधि, जनसम्बन्ध विस्तार तथा आगामी अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमले महानगर क्षेत्रभित्र एमालेको संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउन सहयोग पुग्ने सहभागीहरूको विश्वास थियो। ‘मिशन जागरण’ अभियानलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्दै पार्टीका नीति तथा विचार जनतामाझ पुर्याउने उद्देश्यसहित आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने महानगर कमिटीले जनाएको छ।



































