एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

नगरकोटमा एमाले जनसङ्गठन समन्वय संयन्त्रको कार्यशाला सुरु

भक्तपुर, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर हुँदा देशसमेत कमजोर हुने बताउनुभएको छ।
भक्तपुरको नगरकोटमा एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ को उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो।
चाँगुनारायण नगरपालिका–८, चरेलीस्थित एक रिसोर्टमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले व्यक्तिगत स्वार्थ र आपसी दोषारोपणभन्दा माथि उठेर पार्टी तथा देशको हितमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।
“पार्टीलाई थप शक्तिशाली बनाउन सबै जनसङ्गठनहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले सरकारले जनहितमा प्रभावकारी काम गर्नुपर्ने उल्लेख गर्दै प्रतिपक्षमा रहेको एमालेले सरकारका कामको निरन्तर खबरदारी गरिरहने स्पष्ट पार्नुभयो। पार्टीलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिप्रति सचेत रहन पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रमका अवसरमा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री बनेका नेताहरूलाई सम्मान गर्नुभएको थियो।
त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई वैचारिक र सङ्गठनात्मक रूपमा एकढिक्का बनाएर अघि बढाउनुपर्ने बताउनुभयो। जनसङ्गठनहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो।
कार्यशालामा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, पार्टी सचिव महेश बस्नेत लगायत १५० भन्दा बढी नेता तथा प्रतिनिधिको सहभागिता रहेको छ।
पार्टी र जनसङ्गठनको आगामी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला भोलि आइतबारसम्म सञ्चालन हुनेछ।

Tokha