नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?

नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका हुन्।

आङदेम्बेले युवाको क्षमता, सीप, सिर्जनशीलता र ऊर्जालाई देश निर्माणमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार राज्यले युवालाई राजनीतिक प्रक्रियामा सहभागी गराउने मात्र नभई नीति निर्माण, निर्णय प्रक्रिया र विकासका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न आवश्यक छ।

उनले विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको बताए। विदेशमा हासिल गरेको अनुभव र दक्षतालाई नेपालमै उपयोग गर्न सके रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

“युवालाई मतदान गर्ने जमात मात्रै होइन, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्छ,” आङदेम्बेले भने, “विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ को ठोस नीति आवश्यक छ।”

तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्ने उनले बताए। युवाका लागि शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र नेतृत्व विकासका पर्याप्त अवसर सिर्जना नगरेसम्म देशभित्रै उनीहरूको भविष्य सुनिश्चित गर्न कठिन हुने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा विकास गर्नुपर्ने आङदेम्बेले बताए। युवालाई देशमै अवसर उपलब्ध गराउने र उनीहरूको क्षमता राष्ट्र निर्माणमा प्रयोग गर्ने स्पष्ट नीति तथा कार्यक्रम आवश्यक रहेको उनले उल्लेख गरे।

राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै आङदेम्बेले नेपालको ठूलो युवा जनसंख्यालाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए। युवा जनसंख्यालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके मुलुकले आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मार्न सक्ने उनको भनाइ छ।

तर रोजगारी तथा अवसरको खोजीमा दैनिक करिब दुई हजार युवा विदेशिन बाध्य हुनु गम्भीर चुनौती भएको उनले बताए। देशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै उनले राज्यको युवा नीतिमाथि प्रश्न उठाएका छन्।

आङदेम्बेले पछिल्लो समय युवाले उठाउँदै आएका रोजगारी, सुशासन, जवाफदेहिता र अवसरका सवालप्रति राज्य गम्भीर बन्नुपर्ने बताए। उनले विशेषगरी ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’ भन्दै सरकार तथा राजनीतिक नेतृत्वसँग प्रश्न गरेका छन्।

“जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?” उनले प्रश्न गरे।

उनले २०८२ सालको भदौ तेस्रो सातामा भएको जेनजी आन्दोलनले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको दाबी गरे। त्यसपछि भएको निर्वाचनमा समेत मतदाताले परिवर्तनको चाहना व्यक्त गरेको उनको भनाइ छ।

युवाको असन्तुष्टि र परिवर्तनको चाहनालाई केवल राजनीतिक नाराका रूपमा नहेरी त्यसको मूल कारण पहिचान गरी समाधानतर्फ राज्य अघि बढ्नुपर्ने आङदेम्बेले बताए। युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्दै उनीहरूको नेतृत्व र सहभागितालाई संस्थागत गर्न सके मात्र युवाको अपेक्षा पूरा हुने उनको भनाइ छ।

Tokha