काठमाडौं / नेपाल शिक्षक महासंघले सरकारले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरे तथा विद्यालय शिक्षा ऐन जारी नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले साउन १६ र १७ गते काठमाडौंमा गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनको तयारी गर्ने निर्णय गरेको जनाएको हो। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने जिम्मेवारी भने विस्तारित कार्यालयीय बैठकलाई दिइएको महासंघले जनाएको छ।
महासंघले सरकार र शिक्षक महासंघबीच भएका सहमतिअनुसार विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकार र संघीय संसद्सँग माग गरेको छ।
परिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदान शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएको छ। उनीहरूलाई पनि समान सुविधा उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
त्यसैगरी, मन्त्रिपरिषद्ले २०८२ वैशाख १७ गते गरेको स्थानीय (दुर्गम) भत्तासम्बन्धी निर्णय कार्यान्वयन नभएको भन्दै सम्बन्धित क्षेत्रका शिक्षकलाई निजामती कर्मचारीसरह भत्ता उपलब्ध गराउन महासंघले माग गरेको छ।
महासंघले राहत, साविक उमावि, अस्थायी करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकहरूको पेसागत सुरक्षा, स्थायित्व र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने जनाएको छ। साथै प्रारम्भिक बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदान शिक्षकका लागि दरबन्दी सिर्जना गरी स्थायी व्यवस्थापन गर्नुपर्ने माग राखेको छ।
महासंघले शिक्षक–कर्मचारीसँग सम्बन्धित मन्त्रिपरिषद्को ९ बुँदे निर्णय तत्काल कार्यान्वयन गर्न, सामुदायिक विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति तथा दिवा खाजा रकम वृद्धि गर्न र विद्यालयको पानी तथा विद्युत् महसुल छुट गर्न पनि सरकारसँग आग्रह गरेको छ।
परिषद्ले शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न तथा संविधानअनुसार आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न माग गरेको छ।
त्यस्तै, नेपाल शिक्षक महासंघलाई आधिकारिक पेसागत संस्थाका रूपमा थप सुदृढ र स्वायत्त बनाउने कानुनी व्यवस्था गर्न तथा शिक्षकहरूको ट्रेड युनियन अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ।
महासंघले यसअघि भएका ८९ दिने आन्दोलन तथा २९ दिने काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागी शिक्षक–कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते भएका तथा रिले अनशनमा बसेका शिक्षकहरूको योगदानको प्रशंसा गरेको छ।
यसैबीच, परिषद्ले सुनसरीको कप्तानगञ्जबाट सुरु भई मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक हिंसाप्रति चिन्ता व्यक्त गर्दै शान्ति स्थापना, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित सबै पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।



































