काठमाडौं / नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्या समुदायका व्यक्तिको पहिचान गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उपत्यकाका विभिन्न स्थानमा रहेका रोहिंग्या समुदायका व्यक्तिहरूको विवरण सार्वजनिक गरिएको हो।
प्रहरीका अनुसार पहिचान भएका रोहिंग्याहरू मुख्य रूपमा काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेका छन्।
प्रहरीले उनीहरूको परिचय, बसोबासको अवस्था तथा कानुनी अवस्थाबारे विवरण संकलन र अध्ययन गरिरहेको जनाएको छ। साथै, नेपालमा रहेका विदेशी नागरिकको अभिलेखीकरण, गतिविधिको निगरानी र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ।
रोहिंग्या समुदाय म्यानमारको राखिने राज्यबाट विस्थापित भएको समुदाय हो। विभिन्न समयमा विस्थापनका कारण उनीहरू विभिन्न देशमा पुगेका छन्। नेपालमा पनि केही रोहिंग्या समुदायका मानिसहरू विभिन्न माध्यमबाट प्रवेश गरी काठमाडौं उपत्यकाका केही क्षेत्रमा बसोबास गर्दै आएका छन्।
यसअघि पनि काठमाडौंको कपन क्षेत्र आसपासमा रोहिंग्या समुदायको बसोबास रहेको विवरण सार्वजनिक हुँदै आएको थियो। उनीहरूको संख्या, अवस्था र कानुनी हैसियतबारे सम्बन्धित सरकारी निकायले समय–समयमा अध्ययन गर्दै आएका छन्।
प्रहरीले पछिल्लो विवरण सार्वजनिक गर्दै उपत्यकामा रहेका विदेशी नागरिकको पहिचान, तथ्यांक व्यवस्थापन तथा आवश्यक सुरक्षा निगरानीलाई निरन्तरता दिइने जनाएको छ।



































