काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति आलोचना गर्दै देशमा शासकीय अराजकता बढ्दै गएको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।
शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै सभापति थापाले सत्तापक्षका सांसद तथा मन्त्रीहरूको पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।
उनले बहुमतको आधारमा सरकारमा अहंकार बढ्दा शासकीय अराजकता निम्तिन सक्ने बताए। सत्तारूढ दलका सांसद र मन्त्रीबाट आउने अभिव्यक्ति तथा गतिविधिले गलत सन्देश गएको उनको भनाइ थियो।
थापाले भने, “जब प्रचण्ड बहुमत प्राप्त हुन्छ, तब बहुमतको अहंकारले कहाँ लैजान्छ भने शासकीय अराजकतर्फ लैजान्छ। म अहिले शासकीय अराजकता देखिरहेको छु।”
उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीले राज्य सञ्चालनप्रति प्रश्न उठाएको दाबी गर्दै यस्तो अवस्थालाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
सभापति थापाले सरकारको संविधानप्रतिको दृष्टिकोणप्रति पनि चिन्ता व्यक्त गरे। संविधान सञ्चालन गर्ने क्रममा सरकारको बुझाइ गलत भए त्यसले देशलाई ठूलो द्वन्द्वतर्फ लैजान सक्ने उनको भनाइ थियो।
उनले भने, “सरकारले संविधान चलाउन चाहेको छ, चलाउनै पर्छ। तर सरकारको संविधानप्रतिको बुझाइले यो देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ। हामीले देशलाई द्वन्द्वमा जान दिनु हुँदैन।”
थापाले संविधान र राज्य व्यवस्थाजस्तो गम्भीर विषयलाई हल्का रूपमा लिन नहुने भन्दै सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने बताए।
यसैबीच, आफ्नो नेतृत्वमा सम्पन्न भएको कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै थापाले आवश्यक परे अदालतमा गएर त्यसको वैधानिकता पुष्टि गर्न आफूहरू तयार रहेको बताए।
उनले पार्टी विधानअनुसार सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गरेको र यसको वैधानिकता महाधिवेशनबाट पुष्टि भइसकेको दाबी गरे। अदालतको प्रक्रियामा पनि सम्मानपूर्वक सहभागी भएर आफ्नो पक्ष प्रस्तुत गर्ने उनको भनाइ थियो।



































