एलपीजी ग्यास लुकाएर बिक्री गरे कडा कारबाही, उपभोक्तालाई नआत्तिन विभागको आग्रह

एलपीजी ग्यास लुकाएर बिक्री गरे कडा कारबाही, उपभोक्तालाई नआत्तिन विभागको आग्रह

काठमाडौं / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता र डिपोमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

शुक्रबार जारी सूचनामा विभागले आम उपभोक्ताले सहज रूपमा एलपीजी ग्यास नपाएको, केही ग्यास विक्रेता तथा डिपोले आफ्ना निकट व्यक्ति, होटल तथा व्यवसायीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको भन्ने गुनासो प्राप्त भएको जनाएको छ। यस्ता गतिविधिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अनुगमन भइरहेको जानकारी दिएको छ।

विभागका अनुसार खाना पकाउने एलपीजी ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा प्राप्त गर्नु उनीहरूको अधिकार हो। ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री–वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कानूनविपरीत भएकाले त्यस्ता गतिविधिमा संलग्न पाइए हदैसम्मको कानुनी कारबाही गरिने विभागले जनाएको छ।

यस्ता गैरकानुनी गतिविधि देखिएमा वा आफू ठगिएको महसुस भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल–फ्री नम्बर ११३७ मा जानकारी गराउन विभागले उपभोक्तासँग आग्रह गरेको छ।

विभागले हाल ७.१ केजीका दुई सिलिन्डरको सट्टा १४.२ केजी क्षमताको एक सिलिन्डर वितरण गर्ने प्रक्रियाका कारण केही समय ग्यास वितरणमा असहजता देखिएको स्वीकार गर्दै उक्त समस्या छिट्टै समाधान हुने जनाएको छ। साथै, आम उपभोक्तालाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन पनि विभागले आग्रह गरेको छ।

Tokha