आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह

आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरू समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा तथा चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राखेर आन्दोलनरत रहेको उल्लेख गरिन्। आन्दोलनमा सहभागीमध्ये एक जना इन्टर्न चिकित्सक गम्भीर अवस्थामा आईसीयूमा उपचाररत रहेको उनले बताइन्।

सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत इन्टर्न चिकित्सकका मागप्रति गम्भीर भएर तत्काल समाधान निकाल्नुपर्ने उनको भनाइ थियो।

सांसद ओलीले माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलन गरिरहेका अन्य समूहका समस्या पनि सरकारले बेवास्ता गर्न नहुने बताइन्। उनले मिटरब्याज पीडित, दुर्घटनापीडित तथा न्यायको माग गर्दै आन्दोलनरत नागरिकका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्।

ग्यास अभाव र मूल्यवृद्धिको दीर्घकालीन समाधानका लागि विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने भन्दै उनले विद्युतीय चुलोमा लगाइएको भन्सार हटाउन तथा विद्युत् महसुलमा लाग्ने भ्याट र अन्य कर अधिकतम घटाउन सरकारसँग माग गरिन्।

त्यसैगरी, देशमै बसेर श्रम गरिरहेका युवामाथि राइड सेयरिङ सेवामा ७ प्रतिशत कर लगाइएको भन्दै उक्त निर्णय पुनरावलोकन गर्न सरकारसँग आग्रह गरिन्। उनका अनुसार युवालाई स्वदेशमै रोजगारी र उद्यममा प्रोत्साहित गर्न कर नीतिलाई पनि त्यसअनुसार बनाउन आवश्यक छ।

सांसद ओलीले १६ वटा राजदूत पदका लागि परेको आवेदनको मूल्याङ्कन प्रक्रिया पारदर्शी बनाउन पनि सरकारसँग आग्रह गरिन्। उनले मूल्याङ्कनको आधार, सर्टलिस्ट भएका उम्मेदवार तथा छनोट प्रक्रियाबारे सार्वजनिक जानकारी दिनुपर्ने बताइन्।

यसैगरी, प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै उनले त्यसो भए संसद्मा भइरहेको विरोधसमेत अन्त्य हुने बताइन्।

Tokha