प्रतिनिधिसभा बैठक आज बस्दै, आदिवासी जनजाति आयोगको प्रतिवेदन र जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, आदिवासी जनजाति आयोगको प्रतिवेदन र जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

 

काठमाडौं, साउन ४ — प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

 

संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा पेस गर्नेछिन्।

 

त्यसैगरी, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि बैठकमा छलफल हुनेछ।

 

प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र स्थायी पुनःस्थापनाका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। साथै सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्दै उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन तथा वास्तविक भूमिहीन र सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने विषय प्रस्तावमा समेटिएको छ।

 

उक्त प्रस्तावका समर्थकमा सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्। बैठकमा प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने र सरकारको जवाफसमेत आउने अपेक्षा गरिएको छ।

Tokha