कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

 

काठमाडौं, साउन ४ — हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भएको छ।

 

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

 

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 

आज राति पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

 

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

Tokha