बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

बाजुरा, साउन/बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।

जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको विषालु जङ्गली च्याउ सेवन गरेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाएपछि थापा दम्पतीको स्वास्थ्य अचानक बिग्रिएको थियो। गम्भीर अवस्थामा उनीहरूलाई जिल्ला अस्पताल बाजुरा पुर्‍याइएको थियो।

अस्पतालमा उपचारकै क्रममा राति ११:४० बजे चिकित्सकले रामबहादुर थापालाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए।

घटनामा मृतककी श्रीमती करिब ५० वर्षीया नाम्सरी थापा पनि गम्भीर बिरामी परेकी छन्। उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले जङ्गलमा उम्रिने अपरिचित च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै विषालु च्याउले ज्यानै जाने जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

Tokha