काठमाडौं, साउन / सरकारले बिमा क्षेत्रको समग्र सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्।
समितिलाई नेपालको बिमा क्षेत्रको वर्तमान अवस्था, नियामकीय व्यवस्था, कम्पनीहरूको सञ्चालन, सुशासन, उपभोक्ता हित तथा बिमा सेवाको पहुँचलगायत विषयमा अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र अर्थ मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले बिमा क्षेत्रमा देखिएका नीतिगत तथा संरचनागत चुनौतीहरूको पहिचान गर्दै दीर्घकालीन सुधारका उपाय तय गर्न समिति गठन गरेको जनाएको छ। समितिको प्रतिवेदनका आधारमा बिमा सम्बन्धी नीति, कानुन तथा नियामकीय व्यवस्थामा आवश्यक संशोधन र सुधारका प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
पछिल्ला वर्षहरूमा बिमा क्षेत्रमा दाबी भुक्तानीमा ढिलाइ, सेवाको गुणस्तर, कम्पनीहरूको वित्तीय सुदृढता तथा बिमा पहुँच विस्तारजस्ता विषयमा सुधारको आवश्यकता औंल्याइँदै आएको छ। सरकारले यिनै विषयलाई समेटेर सुधारका लागि अध्ययन गर्न समिति गठन गरेको हो।



































