सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित, जिम्मेवार र सचेत बन्न आग्रह गरेका छन्। भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको देश भएकाले धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको बताए।

उनले पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा सर्वसाधारणमा डर–त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको उल्लेख गरे। साथै, सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे।

आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयम र सद्भावलाई प्राथमिकता दिन तथा एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्दै सामाजिक एकता कायम राख्न सबै नागरिकलाई आह्वान गरेका छन्।

Tokha