नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान आदानप्रदानमा जोड

नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान आदानप्रदानमा जोड

काठमाडौं — नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने नाइमा मोबिलिटी एक्स्पो २०२६ साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ। आयोजकले यस वर्षको एक्स्पोलाई थप व्यवस्थित, प्रविधिमैत्री र उपभोक्तामुखी बनाउने तयारी गरेको जनाएको छ।

गत वर्ष पहिलो पटक आयोजना गरिएको एक्स्पोबाट प्राप्त अनुभवका आधारमा यस वर्ष पार्किङ, फुड कोर्ट, स्टल व्यवस्थापन, सहज आवागमन तथा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि विशेष सुविधाको व्यवस्था गरिएको नाइमाका रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छाले जानकारी दिए।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले यसपटक एक्स्पोमा ४० भन्दा बढी सवारी मोडल प्रदर्शन हुने र करिब पाँच नयाँ ब्रान्ड समेत सहभागी हुने बताए। उनका अनुसार आगन्तुकलाई सहज र गुणस्तरीय अनुभव दिलाउन ह्वीलचेयर प्रयोगकर्ताले पनि सहज रूपमा सम्पूर्ण प्रदर्शनी अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

गोल्छाले नाइमा मोबिलिटी एक्स्पोलाई कुनै एक कम्पनी वा ब्रान्डको प्रचार गर्ने मञ्च नभई सबै प्रदर्शकका लागि समान अवसर उपलब्ध गराउने साझा प्लेटफर्मका रूपमा व्याख्या गरे। एक्स्पोमा पेट्रोलियम, विद्युतीय (ईभी), कमर्सियल, पिकअप तथा भ्यानलगायत सबै प्रकारका सवारीसाधन प्रदर्शन गरिनेछ।

उनका अनुसार एक्स्पो गाडी खरिद–बिक्रीमा मात्र सीमित नहुनेछ। शो अवधिभर ब्याट्री व्यवस्थापन, बैंकिङ तथा सवारी वित्तीय व्यवस्था, दुर्घटना व्यवस्थापन, प्राथमिक उपचार, मेकानिक तालिमलगायत विषयमा छलफल र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। ट्राफिक प्रहरी, विद्यार्थी, अटोमोबाइल प्राविधिक, नीति निर्माता तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम तयार गरिएको उनले बताए।

विद्युतीय सवारीको विस्तारसँगै चार्जिङ पूर्वाधार पनि क्रमशः सुदृढ बन्दै गएको गोल्छाको भनाइ छ। नयाँ पुस्ताका धेरै ईभीले एकै चार्जमा काठमाडौं–पोखरा–काठमाडौं यात्रा गर्न सक्ने क्षमता विकास गरिसकेको उल्लेख गर्दै उनले चार्जिङ सुविधा होटल तथा रेस्टुरेन्टसम्म विस्तार भइरहेकाले पूर्वाधारको समस्या क्रमशः कम हुँदै गएको बताए। यद्यपि, दसैँ–तिहारजस्ता चाडपर्वमा सवारी चाप बढ्दा केही समय दबाब पर्न सक्ने उनको भनाइ छ।

गोल्छाले अटो फाइनान्सिङमा बैंकहरूले हाल उपलब्ध गराउँदै आएको ६० प्रतिशत ऋण सीमा बढाउनुपर्ने धारणा पनि राखे। अटो कर्जाको विस्तारले गाडी बिक्री, सरकारी राजस्व र बैंकिङ कारोबार सबैलाई सकारात्मक प्रभाव पार्ने उनको तर्क छ। विद्युतीय सवारीमा ४२–४३ प्रतिशतदेखि उच्च क्षमताका मोडलमा २२० प्रतिशतसम्म कर लाग्ने जानकारी दिँदै उनले पेट्रोलियम सवारीमा अझ बढी कर रहेको उल्लेख गरे।

उनले सडक पूर्वाधार सुधारले अटोमोबाइल क्षेत्रसँगै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। राम्रो सडकका कारण इन्धन खपत घट्ने, ढुवानी लागत कम हुने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ।

साथै, नाइमाले प्राविधिक तालिम, शैक्षिक संस्थासँग सहकार्य, ट्राफिक प्रहरीलाई प्रशिक्षण तथा आपत्कालीन सहयोगजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। गोल्छाले नाइमा मोबिलिटी एक्स्पोलाई नयाँ प्रविधि, करियर अवसर र अटोमोबाइल क्षेत्रका सम्भावना बुझ्ने साझा मञ्चका रूपमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।

Tokha