ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँचको दाबी

ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँचको दाबी

काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्पनीले चीनका उत्पादकबाट प्रत्यक्ष वस्तु खरिद गरी आफ्नै ढुवानी, भण्डारण र वितरण प्रणालीमार्फत नेपाली उपभोक्तासम्म पुर्‍याउने अवधारणासहित सेवा सुरु गरेको जनाएको छ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठका अनुसार नेपालमा आयातित अधिकांश वस्तु आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने भएकाले मूल्य र आपूर्तिमा अनिश्चितता देखिने गरेको छ। चाइनाबजारले अनावश्यक मध्यस्थ तह हटाएर गुणस्तरीय वस्तु पारदर्शी तथा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको उनले बताइन्।

उनका अनुसार कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्ने, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउने, आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याउने व्यवस्था गरेको छ। यसले डेलिभरी समय छोटो हुने र मूल्य प्रतिस्पर्धी रहने कम्पनीको दाबी छ।

‘एन्जोय योर सपिङ’ नारासहित सञ्चालनमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल, स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध गराउने जनाएको छ। आगामी दिनमा उत्पादनको दायरा थप विस्तार गरिने कम्पनीले जनाएको छ।

कम्पनीले गुण कम्प्लेक्समा आफ्नो पहिलो एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएको छ। उक्त स्टोरमार्फत ग्राहकले सामान प्रत्यक्ष हेर्न र अनुभव गर्न सक्नेछन्। कम्पनीका अनुसार पहिलो चरणमै वीरगञ्ज र भैरहवामा पनि एक्सपेरियन्स स्टोर विस्तार गर्ने योजना रहेको छ।

चाइनाबजारले नेपालको डिजिटल अर्थतन्त्रको विस्तारसँगै देशभर अफलाइन रिटेल स्टोरको सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

Tokha