काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र (बालेन) शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत मनोनित गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार सभापति रवि लामिछानेको प्रस्तावमा विधानको व्यवस्था बमोजिम शाहलाई वरिष्ठ नेता चयन गरिएको हो।
बैठकले पार्टी सचिवालय पनि गठन गरेको छ। सचिवालयमा सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने निर्णय गरिएको छ।
रास्वपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमजोरीहरूको अध्ययन गर्ने निर्णय गरेको जनाएको छ। बैठकले बैठक सञ्चालन, सदस्यता, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभागसम्बन्धी विभिन्न कार्यविधि पनि पारित गरेको छ। ती दस्तावेजमा श्रावण १८ गते साँझ ५ बजेसम्म प्राप्त हुने संशोधन सुझाव समावेश गरिने बताइएको छ।
पार्टीले विभागीय नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट सम्बन्धित विभागको लक्ष्य, रूपरेखा र ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरेको छ। साथै, सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँग समन्वय प्रभावकारी बनाउन प्रत्येक महिनामा कम्तीमा एक दिन पार्टी कार्यालयमा मन्त्रीहरूसँग अनिवार्य छलफल गरिने भएको छ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, ‘अन्तर्राष्ट्रिय युवा दिवस २०२६’ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा मनाउने निर्णय गर्दै कार्यक्रम आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तथा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ।
नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न सबै तहका पार्टी कार्यालयमा नियमित उपस्थितिको व्यवस्था लागू गर्ने निर्णय पनि बैठकले गरेको छ। यसअनुसार केन्द्रीय कार्यालयमा दैनिक दुईजना केन्द्रीय सदस्य, प्रदेश कार्यालयमा दुईजना प्रदेश सदस्य र जिल्ला कार्यालयमा एकजना जिल्ला समिति सदस्यको अनिवार्य उपस्थिति रहनेछ।
सामाजिक सञ्जालको प्रयोगसम्बन्धी निर्देशिका जारी गर्दै पार्टीले आत्महत्या र आत्मदाहजस्ता संवेदनशील घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा साझेदारी वा प्रसारण नगर्न सबै तहका सदस्यहरूलाई निर्देशन दिएको छ।
यसैबीच, बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।


































