काठमाडौं । वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा निधन भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका कृतिहरू सार्वजनिक गरेको हो।
‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उनले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, संघर्ष र जीवनका विविध अनुभव समेटेका छन्। ‘अतीतमा अच्युत’ भने रेग्मीसँग विभिन्न कालखण्डमा सहकार्य गरेका दुई दर्जनभन्दा बढी लेखक तथा विद्वानका संस्मरण, विश्लेषण र लेखहरूको संग्रह हो, जसले उनको व्यक्तित्व, विचार र योगदानलाई उजागर गरेको छ।
९३ वर्षको उमेरदेखि लेखन सुरु गरेका रेग्मीले ९६ वर्ष पुग्दा दुवै कृतिको लेखन सम्पन्न गरेका थिए। तर पुस्तक प्रकाशित हुनुअघि नै उनको निधन भएपछि परिवारले पहिलो पुण्यतिथिका अवसरमा दुवै कृति एकैसाथ सार्वजनिक गरेको हो।
कार्यक्रममा उनकी पत्नी भगवती रेग्मीले अच्युतराज रेग्मीका विचार, अनुभव र जीवनदर्शनलाई पुस्तकमार्फत सम्पूर्ण नेपालीमाझ पुर्याउने सपना पूरा भएको बताइन्। उनले आगामी दिनमा पनि रेग्मीका अन्य कृतिहरू प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए। उनले लोकतन्त्रका लागि संघर्षका क्रममा रेग्मीले निर्वासनसम्मको कठिन अवस्था भोग्नुपरेको स्मरण गरे।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले अच्युतराज रेग्मी बाल्यकालदेखि नै राजनीतिक र आध्यात्मिक चेत भएका व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, मानवता र लोकतन्त्रका पक्षमा उनले खेलेको भूमिका अनुकरणीय रहेको बताए। उनले अन्तरिम सरकारमा मन्त्रीका रूपमा सँगै काम गर्दाका अनुभव पनि साझा गरे।
कार्यक्रममा वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा. माधव भट्टराई, प्रा. डा. खेम कोइराला बन्धुलगायत वक्ताहरूले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र वार्ताकारका रूपमा उनको योगदानको प्रशंसा गरेका थिए।
दुवै कृतिको सम्पादन होम भट्टराईले गरेका हुन् भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हालेकी छन्।
अच्युतराज रेग्मी नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ (२००४ साल) का सक्रिय सहभागी थिए। उनी २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए। साथै, माओवादी शान्ति प्रक्रियामा अन्तरधार्मिक शान्ति संघमार्फत संवादको वातावरण निर्माण गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
परिवारले रेग्मीका अन्य अप्रकाशित कृतिहरू पनि आगामी दिनमा क्रमशः प्रकाशन गर्दै जाने जनाएको छ।


































