बजेट, नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयन गर्न निर्देशन

बजेट, नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयन गर्न निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट, नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा शतप्रतिशत कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय तथा कार्यक्रम प्रमुखहरूसँग भएको बैठकमा उनले एक साताभित्र वार्षिक कार्ययोजना तयार गरी पेश गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखबीच साउनभित्र कार्यसम्पादन सम्झौता सम्पन्न गर्न तथा सार्वजनिक खरिद प्रक्रियामा लैजानुपर्ने योजनाको सूचना असोजभित्र प्रकाशित गर्न निर्देशन दिइन्।

कार्यवाहक प्रमुख डंगोलले वडास्तरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन केन्द्रबाट आवश्यक सहयोग उपलब्ध गराउने, कार्यालय सञ्चालनमा मितव्ययिता अपनाउने, मर्मत गरेर प्रयोग गर्न सकिने सामग्री मर्मत गर्ने र प्रयोग गर्न नसकिने सामग्री लिलाम प्रक्रियामा लैजानुपर्नेमा जोड दिइन्। साथै, सेवा प्रवाहलाई सहज र चुस्त बनाउँदै वित्तीय अनुशासन कायम गर्न तथा गत वर्षका सफल अभ्यासलाई निरन्तरता दिन आग्रह गरिन्।

उनले करको दायरा विस्तार गर्न र सहरी योजना आयोगबाट आवश्यक सहयोगका लागि तीन दिनभित्र माग पेश गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइन्। साथै, आन्तरिक तथा बाह्य समन्वय र प्रभावकारी सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगर निर्माणका लागि योजनाबद्ध ढंगले काम गर्न आग्रह गर्दै विभागीय प्रमुखहरूलाई मूल्याङ्कन सूचकसहित कार्यविवरण तयार गरी मातहतका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने बताए।

त्यसैगरी, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले आयोग र विभागबीचको समन्वयबाट दिगो नतिजा हासिल हुने विश्वास व्यक्त गरे भने आयोगका सदस्य डा. सुरज काफ्लेले साझा संकल्प र समान दृष्टिकोणबाट लक्ष्य हासिल गर्न सकिने धारणा राखे।

बैठकपछि प्रमुखको सचिवालयले निर्णय कार्यान्वयनका लागि सबै विभाग, आयोजना र सचिवालयमा परिपत्र पठाइसकेको जनाएको छ।

Tokha