काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी देखिएको अन्योल हटाउँदै श्रावण महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गरिने जनाएको छ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आर्थिक ऐनअनुसार विद्युत सेवामा भ्याट लागू हुने व्यवस्था बमोजिम २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको र त्यसपछि जारी भएका मासिक विद्युत महसुल बिलमा नियमानुसार भ्याट समावेश गरिएको जनाएको छ।
तर, २०८३ असार ३२ गतेसम्मको विद्युत खपतको बिल साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची–१ समूह २ अन्तर्गत विद्युत शक्ति आवश्यक वस्तुका रूपमा समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने स्पष्ट पारिएको छ।
यसै आधारमा साउन महिनामा ग्राहकबाट असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको विद्युत महसुल बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।


































