भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उनीहरूको रिहाइका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

सोमबार जारी विज्ञप्तिमा कांग्रेसले सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरेर फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको जनाएको छ। उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन्।

कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि नेपाल सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

विज्ञप्तिमा ती किसानहरू व्यावसायिक लाभका लागि नभई आफ्नै खेतीका लागि आवश्यक मल ल्याउन गएकाले उनीहरूलाई तस्करका रूपमा नहेर्न आग्रह गरिएको छ।

साथै, कांग्रेसले भारत सरकारसँग नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई शीघ्र रिहा गर्न तथा आवश्यक कानुनी सहजीकरण गरिदिन अनुरोध गरेको छ।

Tokha