धनगढी। स्वास्थ्य क्षेत्र सुधारलगायत विभिन्न माग राखेर अनसनरत डा. गोविन्द केसी र सरकारबीच सोमबार राति ७ बुँदे सहमति भएको छ। सहमतिपछि धनगढीमा पाँच दिनदेखि जारी उनको अनसन समाप्त भएको हो।
सोमबार राति करिब ९ बजे दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडे।
सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गरिने तथा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सुरु गरिनेछ। विश्वविद्यालयसम्बन्धी ऐन संशोधन प्रक्रिया तीन महिनाभित्र अघि बढाइने र चिकित्सा क्षेत्रलाई क्रमशः गैर–नाफामूलक बनाउन छ महिनाभित्र कार्यदल गठन गरिने सहमति भएको छ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार गुणस्तर मूल्याङ्कनपछि मात्र सिट निर्धारण गरिने, निजी शिक्षण संस्थामा सिट संख्या नबढाइने तथा छात्रवृत्ति व्यवस्था यथावत् राखिने उल्लेख छ।
सहमतिपत्रमा २०४६ सालयता उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी कारबाही अघि बढाउने, साथै २०८२ भदौमा भएका हत्या, आगजनी र लुटपाटजस्ता जघन्य घटनाका दोषीमाथि कानुनी कारबाही गरिने विषय पनि समेटिएको छ।
यसैगरी, विगतका सहमतिहरूको कार्यान्वयन अवस्था अध्ययन गर्न तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी उच्चस्तरीय कार्यदल तथा प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिने सहमति भएको छ।
यद्यपि, अनसन सुरु गर्दा डा. केसीले उठाएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउनुपर्ने मुख्य माग भने अन्तिम सहमतिपत्रमा समावेश भएको छैन।



































