अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोले यातायात सेवा प्रभावित बनेपछि सम्बन्धित निकायले यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रहरीका अनुसार लगातारको वर्षापछि काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ भने दिउँसो सञ्चालन गर्न अनुमति दिइएको छ। यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं. २ कोदारीस्थित इकु पहिरो क्षेत्रमा सडकमाथिबाट लेदो, माटो र पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा सडकमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडक अवरुद्ध बनेको छ। यद्यपि, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा सुख्खा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी, मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलामा पहिरो र ढुङ्गा खस्दा नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा यातायात प्रभावित भएको छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरमा पहिरो झरेपछि बेँसीशहर–च्यामे–मनाङ सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।

सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको जनाएका छन्। यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Tokha