काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि व्यवहारिक नीति र पर्याप्त पूर्वाधार आवश्यक रहेको बताएका छन्।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, यातायात सहजीकरण तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, “मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना फैलाउन उल्लेखनीय योगदान दिएको छ। ट्राफिक प्रहरीका जवानदेखि उच्च तहसम्मका सबैप्रति म सम्मान व्यक्त गर्न चाहन्छु।”
सिटौलाले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनीहरूकै सक्रियताले राजधानीको यातायात व्यवस्था सञ्चालनमा सहजता आएको उल्लेख गरे।
उनले मेट्रो ट्राफिक एफएमलाई आर्थिक रूपमा थप सबल बनाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
“आज विज्ञापनका लागि घर–घर धाउनुपर्ने अवस्था दुःखद हो। सरकारले ट्राफिक एफएमलाई आर्थिक रूपमा व्यवस्थित गर्दै आवश्यक साधन–स्रोत उपलब्ध गराउनुपर्छ। सम्बन्धित मन्त्रालय र निकायले यसतर्फ ध्यान दिनुपर्छ, ताकि यसको सेवा देशभर विस्तार होस्,” उनले भने।
सिटौलाले विदेशी मुलुकका सडक र ट्राफिक प्रणालीको नक्कल गरेर नेपालमा नीति लागू गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।
“अमेरिका वा युरोपका सडक हेरेर नेपालमा त्यही नियम लागू गर्न मिल्दैन। म नेपालको सार्वजनिक यातायात सुधार्ने प्रतिबद्धतासहित आएको हुँ। तर आज लगानीकर्ता पनि खुसी छैनन्, कामदार पनि सन्तुष्ट छैनन्। यसको मुख्य कारण सिंहदरबारमा बन्ने नीतिहरू व्यवहारिक नहुनु हो,” उनले भने।
काठमाडौं उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको उल्लेख गर्दै उनले सरकारले नियमभन्दा पहिले आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।
“काठमाडौं उपत्यकामा २३ लाख मोटरसाइकल र २६ लाखभन्दा बढी सवारी साधन छन्। ती सबै कहाँ गुड्ने? त्यसैले नयाँ नियम लागू गर्नुभन्दा पहिले सडक र अन्य पूर्वाधारको व्यवस्था गर्नुपर्छ,” उनले आग्रह गरे।



































