काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२औँ बुँदाअनुसार सट्टेबाजीसम्बन्धी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको थियो। सोही निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका यस्ता वेबसाइट तथा एपमा पहुँच रोक्दै आएको छ। यद्यपि, नयाँ नाम र डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम भने जारी रहेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार फिफा विश्वकप आयोजना भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा बेटिङसम्बन्धी वेबसाइट र एप बन्द गरिएका छन्। विश्वकपका बेला अनलाइन सट्टेबाजी बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोमा प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी निगरानी र कारबाहीलाई तीव्र बनाएको हो।
टास्क फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै राखेर सञ्चालनमा रहेका यस्ता वेबसाइटका यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था मिलाइएको थियो। सम्बन्धित निकायबाट पहिचान गरिएका वेबसाइटहरू आईएसपीसँगको समन्वयमा बन्द गरिँदै आएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार एउटा वेबसाइट बन्द भएपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायम रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरेर नयाँ साइटहरूको निरन्तर निगरानी (हन्टिङ) गर्दै ब्लक गर्ने व्यवस्था गरिएको छ। यस कार्यका लागि छुट्टै प्राविधिक जनशक्ति पनि परिचालन गरिएको छ।
प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट वा एपबारे जानकारी भए आफ्नो आधिकारिक गुनासो प्रणालीमार्फत सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।



































