काठमाडौं, साउन ७ । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा चरित्रहत्या गर्ने उद्देश्यले लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।
प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप अनुमति प्राप्त भएको छ।
केसीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा राधिका दासीविरुद्ध व्यक्तिगत रूपमा गम्भीर आरोपहरू सार्वजनिक गर्दै आएकी थिइन्। ती आरोपहरू निराधार रहेको र आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



































