७ बुँदे मागसहित डा. गोविन्द केसी आजदेखि धनगढीमा सत्याग्रहमा

७ बुँदे मागसहित डा. गोविन्द केसी आजदेखि धनगढीमा सत्याग्रहमा

धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सात बुँदे माग अघि सार्दै आज (बिहीबार)देखि धनगढीमा सत्याग्रह सुरु गर्ने भएका छन्। उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनशन प्रारम्भ गर्ने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमार्फत डा. केसीले स्वास्थ्य क्षेत्रलाई सरकारले नै निजीकरणतर्फ उन्मुख गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा सत्याग्रह बस्न लागेको बताए। सुरुमा पाँच बुँदे माग तय गरिए पनि सीमावर्ती क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने र जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग थपिएपछि सात बुँदे माग बनेको उनले जानकारी दिए।

उनले कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निजी मेडिकल कलेजमा लगानी भएका व्यक्तिहरूलाई नेतृत्वमा नियुक्त गरेर सरकारले सार्वजनिक स्वास्थ्य शिक्षालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाए। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दको नियुक्ति खारेज गरी स्वार्थ नबाझिने, चिकित्सा शिक्षा क्षेत्रको अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उनको माग छ।

‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने ऐन बनिसकेको छ। अब विश्वविद्यालय सञ्चालनमा मेरो कुनै असहमति छैन,’ उनले भने, ‘तर निजी स्वास्थ्य संस्थामा लगानी भएका व्यक्तिलाई नेतृत्वमा राखेर गेटा परियोजनालाई अन्योलमा पार्ने काम भइरहेको छ। यस्तो नियुक्तिले विश्वविद्यालयको उद्देश्य पूरा हुन सक्दैन।’

डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजमा विद्यार्थीको सिट संख्या बढाउने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्न पनि माग गरेका छन्। साथै, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

उनका अन्य मागमा विगतमा सरकारसँग भएका सबै लिखित सहमति कार्यान्वयन गर्ने, सीमावर्ती तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने तथा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने विषय पनि समावेश छन्।

डा. केसीले विकट तथा सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच कमजोर बन्दै गएको उल्लेख गर्दै सरकारले स्वास्थ्य अधिकार कटौती गर्ने नीतितर्फ अघि बढेको आरोप लगाए। यस्तो अवस्थामा नागरिकको स्वास्थ्य अधिकारको संरक्षणका लागि आफूले फेरि सत्याग्रहको बाटो रोज्नुपरेको उनको भनाइ छ।

यसअघि उनले दार्चुलाको व्यास क्षेत्रबाट सत्याग्रह सुरु गर्ने तयारी गरेका थिए। तर भारतीय सुरक्षा निकायले पाँच दिनका लागि मात्रै आवतजावतको अनुमति दिएको र आफूले मागेअनुसार भारतीय भूमि प्रयोग गर्न नदिएको भन्दै योजना परिवर्तन गर्नुपरेको उनले बताए।

स्वास्थ्य अवस्थाका कारण नेपाली भूभाग हुँदै व्यास पुग्न कठिन भएकाले भारतीय बाटो प्रयोग गर्न खोजिएको भए पनि अनुमति नपाएपछि दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर धनगढी फर्किएको उनले जानकारी दिए।

‘सायद मैले सत्याग्रह बस्ने तयारी गरेको जानकारी भारतीय सुरक्षा निकायलाई पनि थियो। त्यसैले मैले मागेअनुसारको अनुमति प्राप्त गर्न सकिनँ,’ उनले भने, ‘दार्चुलामा केही दिन स्वास्थ्य सेवा दिएर अन्ततः धनगढी फर्केर सत्याग्रह सुरु गर्ने निर्णय गरेको हुँ।’

Tokha