काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार जारी गरेको विज्ञप्तिमा उनले वर्तमान परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित तथा जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न सही क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानले सुनिश्चित गरेका जनअधिकारमाथि विभिन्न प्रकारका चुनौती देखापरिरहेको उल्लेख गर्दै ती चुनौतीको सामना गर्न कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ र एकीकृत बनाउनु आवश्यक रहेको बताए।
खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा दूरदर्शी नेता भएको उल्लेख गर्दै नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि उनले स्पष्ट वैचारिक मार्गनिर्देशन गरेको बताए। पुष्पलालकै मार्गदर्शनअनुसार अघि बढ्दा नेपालमा जनवादी क्रान्ति सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको तथा समाजवादी रूपान्तरणको आधार तयार भएको उनको दाबी छ।
उनले वर्तमान राष्ट्रिय परिस्थितिमा सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल ऐतिहासिक आवश्यकता बनेको बताए। राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समृद्धि तथा नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न सबै वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न उनले आह्वान गरे।
विज्ञप्तिमार्फत खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान व्यक्त गर्दै उनको ऐतिहासिक योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले पुष्पलालको योगदानकै आधारमा नेपाली कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुगेको उल्लेख गरेका छन्।



































