काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विभिन्न राजनीतिक दल, वामपन्थी संगठन तथा शुभेच्छुकहरूले पुष्पलालको योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जली सभा र अन्य कार्यक्रम आयोजना गरि मनाइँदै छ ।
नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता मानिने पुष्पलालले विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित र वैचारिक आधार प्रदान गर्न उनको भूमिका ऐतिहासिक मानिन्छ।
कम्युनिस्ट पार्टी स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासहितका नेताहरूसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। त्यसबेलादेखि नै उनी राणा शासनविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय थिए।
विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारी श्रेष्ठका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले लामो समय प्रवासमै बसेर नेपाल कम्युनिस्ट पार्टीका गतिविधि सञ्चालन गरेका थिए। उनी प्रजातन्त्रका लागि प्राण आहुति दिएका सहिद गंगालाल श्रेष्ठका भाइ पनि हुन्।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित विश्वप्रसिद्ध ग्रन्थ ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। साथै, उनले विभिन्न पुस्तक, लेख तथा वैचारिक दस्तावेजमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनलाई स्पष्ट वैचारिक दिशा दिएका थिए।
राजनीतिक रूपमा उनले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा अघि सारेका थिए। त्यतिबेला उनको यो विचारले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ बहस र रणनीतिक दिशा दिएको मानिन्छ।
नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
उनको स्मृति दिवसका अवसरमा आज विभिन्न राजनीतिक दलका नेताहरूले पुष्पलालको विचार, योगदान र राजनीतिक विरासतको स्मरण गर्दै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र समाज रूपान्तरणका लागि उनले देखाएको मार्ग अझै सान्दर्भिक रहेको बताएका छन्।



































