‘गौँथली’मा मदनकृष्ण श्रेष्ठ र डा. कपिल रिजालको सशक्त सहकार्य, सामाजिक सन्देशले जित्दै दर्शकको मन

‘गौँथली’मा मदनकृष्ण श्रेष्ठ र डा. कपिल रिजालको सशक्त सहकार्य, सामाजिक सन्देशले जित्दै दर्शकको मन

काठमाडौं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमै उत्साहजनक प्रतिक्रिया पाएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’सँगै दर्शकको उल्लेख्य उपस्थितिका कारण अधिकांश हलहरूले चलचित्रको शो संख्या समेत बढाएका छन्।

चलचित्रका निर्देशक तथा निर्माता डा. कपिल रिजालका अनुसार शुक्रबारको तुलनामा शनिबार थपिएका शोहरू पनि हाउसफुल भएपछि प्रदर्शन संख्या अझै विस्तार गरिएको हो। उनका अनुसार ‘गौँथली’ केवल मनोरञ्जनका लागि बनाइएको चलचित्र नभई नेपाली समाज, संस्कृति र सामाजिक मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको कृति हो।

डा. रिजालले कला र साहित्यप्रतिको आफ्नो लगाव पारिवारिक वातावरणबाटै विकास भएको बताए। साहित्यकार हजुरबुवा र वरिष्ठ चिकित्सक डा. भोला रिजालको सिर्जनात्मक वातावरणले आफूलाई बाल्यकालदेखि अभिनय र कथावाचनतर्फ प्रेरित गरेको उनको भनाइ छ।

उनका अनुसार चलचित्रमा स्वास्थ्य, शिक्षा, बालविवाह, पारिवारिक सम्बन्ध, प्रेम, आत्मस्वीकृति तथा अटिजमजस्ता विषयलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। करिब २५ वर्षअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’बाट प्रेरणा लिएर आधुनिक प्रविधि र नयाँ पुस्तालाई लक्षित गर्दै चलचित्र पुनः निर्माण गरिएको उनले बताए।

चलचित्रको अर्को विशेषता कलाकार छनोट रहेको निर्देशक रिजालको भनाइ छ। चर्चित अनुहारभन्दा पात्रलाई जीवन्त बनाउन सक्ने कलाकारलाई प्राथमिकता दिइएको भन्दै उनले मुख्य भूमिकामा सिम्रन पन्त र अभिनेता अरुण क्षेत्रीलाई अभिनय क्षमताका आधारमा चयन गरिएको जानकारी दिए।

विशेषगरी अटिजम भएका पात्रको प्रस्तुतीकरणका लागि विस्तृत अध्ययन गरिएको निर्देशकले बताए। अभिभावकसँग परामर्श, प्रत्यक्ष अवलोकन तथा अनुसन्धानपछि पात्रलाई सम्मानजनक ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ। चलचित्र हेरेपछि अटिजम भएका बालबालिकाका अभिभावकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए।

नेपालभर करिब २०० स्क्रिनमा प्रदर्शन भइरहेको ‘गौँथली’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा पनि रहेको छ। अमेरिकामा साउन २४ गतेदेखि प्रदर्शन सुरु हुने चलचित्र त्यसपछि मध्यपूर्व, बेलायत र अस्ट्रेलियामा पनि प्रदर्शन गरिने तयारी गरिएको छ।

यसैबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘गौँथली’ले मनोरञ्जनसँगै छोरीहरूको शिक्षा, बालविवाह र अटिजमप्रति समाजको दृष्टिकोण परिवर्तन गर्ने सशक्त सन्देश दिएको बताए।

चलचित्रमा शिक्षकको भूमिकामा देखिएका श्रेष्ठले निर्देशक डा. कपिल रिजालसँग आफ्नो परिवारको लामो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै उहाँकै आग्रहमा चलचित्रमा अभिनय गरेको बताए। उनले वास्तविक जीवनमा पनि किशोर अवस्थामै विद्यालयमा अध्यापन गरेको अनुभवले शिक्षकको भूमिका निर्वाह गर्न सहज भएको सुनाए।

श्रेष्ठका अनुसार चलचित्रले ग्रामीण समाजमा अझै विद्यमान बालविवाह, छोरीहरूको शिक्षाप्रतिको विभेद र विवाहपछि महिलाले आफ्ना सपना त्याग्नुपर्ने अवस्थालाई यथार्थपरक ढंगले चित्रण गरेको छ। साथै, अटिजम भएका व्यक्तिप्रति समाजमा रहेको गलत धारणा परिवर्तन गर्न पनि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।

मुख्य अभिनेत्री सिम्रन पन्त र अटिजम भएका पात्रको अभिनयको प्रशंसा गर्दै उनले ‘गौँथली’ नेपाली समाज, संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको चलचित्र भएको बताए।

‘यो शुद्ध नेपाली कथा हो। मनोरञ्जनसँगै समाजका महत्त्वपूर्ण विषयमा सोच्न बाध्य बनाउने चलचित्र बनेको छ,’ उनले भने।

श्रेष्ठले राम्रो चलचित्रको सबैभन्दा ठूलो प्रचारक दर्शक नै हुने उल्लेख गर्दै ‘गौँथली’ पनि त्यस्तै चलचित्र बन्ने विश्वास व्यक्त गरे।

Tokha