काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो।
महासंघ सचिवालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरे।
उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन तथा निर्यात विस्तार र निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय तथा परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताए। निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
महासंघका जिल्ला तथा नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्त्वपूर्ण अंग भएको उल्लेख गर्दै क्षेत्रगत रूपमा देखिएका समस्या समाधानमा यसको भूमिका प्रभावकारी रहने बताए।
वस्तुगत उपाध्यक्ष तथा परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउन परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले परिषद्का सदस्यहरूलाई आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्दै निजी क्षेत्रको हित संरक्षण र प्रवर्द्धनमा सक्रिय हुन आग्रह गरे। साथै, विषयगत समितिका तथ्यांकमा आधारित अनुसन्धानमार्फत समस्या पहिचान गरी समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए।
एसोसिएट उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै अपेक्षित लयमा फर्किन नसकेको र लगानीको वातावरण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै व्यावसायिक गतिविधि विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन वस्तुगत परिषद्को भूमिका महत्त्वपूर्ण हुने बताए।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा विभिन्न समितिका गतिविधिले महासंघलाई थप सक्रिय बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैली अपनाएर अर्थतन्त्रलाई गति दिने दिशामा काम गर्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच, बुधबार बसेको वस्तुगत परिषद्को बैठकले परिषद्को उपसभापतिमा भक्तबहादुर हमाललाई मनोनयन गरेको छ। हाल नेपाल उद्योग वाणिज्य महासंघमा १४२ वटा वस्तुगत सदस्य संघ आबद्ध रहेका छन्।



































