काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४५८ जना चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका ३५, रातोबत्ती उल्लङ्घन गर्ने ५६, तीव्र गतिमा सवारी चलाउने १४८, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ४४, लेन अनुशासन उल्लङ्घन गर्ने ९१, सवारी साधनको अवस्था ठीक नभएका ५० तथा एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ४० जना चालकलाई कारबाही गरिएको छ।
यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९४२ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले उपत्यकामा सडक सुरक्षा र ट्राफिक अनुशासन कायम गर्न नियमित रूपमा सवारी जाँचलाई तीव्रता दिइरहेको जनाएको छ। साथै, सबै चालकलाई ट्राफिक नियमको पालना गर्न, मापसे गरी सवारी नचलाउन, निर्धारित गति सीमा नाघेर सवारी नचलाउन तथा ट्राफिक संकेत र लेन अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ।



































