काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ। सोमबार काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पछिल्ला राजनीतिक घटनाक्रमका कारण परिस्थिति परिवर्तन भएको र त्यसैले तत्काल सरकारबाट बाहिरिने निर्णय नगरेको बताए।
उनले भने, “अहिले केही अवस्था परिवर्तन भएको छ। तत्काल सरकारबाट हट्ने कुरा छैन। हामी सरकारबाट बाहिरिएका छैनौं, सरकारमै छौं।”
थपलियाका अनुसार अन्य राजनीतिक दलहरूसँग संवाद र छलफल जारी रहेकाले प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न पार्टीले अझै केही समय पर्खने रणनीति अपनाएको छ। राजनीतिक समीकरण थप स्पष्ट भएपछि मात्रै आवश्यक निर्णय लिइने उनको भनाइ छ।
यसअघि केन्द्रमा विकसित राजनीतिक घटनाक्रमको प्रभावस्वरूप बागमती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर पार्टी नेतृत्वबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उक्त तयारी स्थगित गरिएको थियो।
हाल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। एमालेबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री किरण थापा, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरत केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ सरकारमा रहेका छन्।
प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाइएपछि केही मन्त्रीहरू विनाविभागीय हैसियतमा समेत कार्यरत छन्। यसअघि पनि कांग्रेस नेता बहादुरसिंह लामाको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारमा एमाले सहभागी रहेको थियो।
एमालेको पछिल्लो निर्णयसँगै बागमती प्रदेश सरकार तत्कालका लागि यथावत् रहने देखिएको छ। यद्यपि केन्द्रको राजनीतिक समीकरण र दलहरूबीच हुने आगामी छलफलका आधारमा प्रदेश सरकारको भविष्यबारे थप निर्णय हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।



































