हेटौँडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयसँगै त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ। सोही क्रममा वाग्मती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै मन्त्रीले आजै सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको वाग्मती प्रदेश सरकारमा सत्तासाझेदार रहेको एमालेले बिहीबार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमार्फत आफ्ना सबै मन्त्रीको राजीनामा बुझाउने तयारी गरेको हो।
बिहीबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा एमालेका तर्फबाट सहभागी सबै ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरिएको प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिए।
उनका अनुसार केन्द्रीय नेतृत्वको निर्णयअनुसार कांग्रेससँगको सत्ता सहकार्यलाई निरन्तरता नदिने निष्कर्षमा एमाले पुगेको छ।
“अन्य प्रदेशको नेतृत्व र पार्टीको माथिल्लो तहसँग छलफल भइरहेको छ। कांग्रेससँगको सहकार्यमा एमाले अघि बढ्दैन। आज बस्ने मन्त्रिपरिषद् बैठकमार्फत एमालेका सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरेका छन्। माथिल्लो तहको निर्णय पालना गर्नुबाहेक अर्को विकल्प छैन,” मन्त्री थापाले भने।
बुधबार कांग्रेस पदाधिकारी बैठकले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै वाग्मती प्रदेशमा पनि नयाँ राजनीतिक समीकरण बन्ने प्रक्रिया तीव्र बनेको हो।
एमाले सरकारबाट बाहिरिएसँगै अब नेपाली कांग्रेस र नेकपा बीच नयाँ सत्ता साझेदारी बन्ने सम्भावना बलियो भएको राजनीतिक वृत्तमा चर्चा छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने सार्वजनिक भएको छैन।
हाल वाग्मती प्रदेश सरकारमा एमालेबाट भरत केसी (वन तथा वातावरण), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), जयराम थापा (श्रम, रोजगार तथा यातायात), मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), किरण थापा (स्वास्थ्य) र विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) मन्त्री छन्।
यसअघि प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको थियो। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयन गर्ने तयारी भइरहेका बेला सत्ता समीकरण परिवर्तनको प्रक्रिया अघि बढेको हो।
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ भने नेकपासँग २६, एमालेसँग २५, राप्रपासँग १२, नेपाल मजदुर किसान पार्टीसँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद रहेका छन्।
केन्द्रको राजनीतिक निर्णयपछि वाग्मती प्रदेशको सत्ता समीकरणमा हुन लागेको परिवर्तनलाई प्रदेश सरकार पुनर्गठनतर्फको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।



































